Saturday, 2 September 2017

च्याउको महत्व र कन्ये च्याउ खेती प्रबिधी: एक लेख


विद्यार्थीको मिहेनतले हासिल परिणाम  
च्याउको उपभोगले हुनसक्ने फाईदाहरुको बारेमा निकै अध्ययन अनुसन्धान भएका छन। यसको तरकारीजन्य पोषण औषधीय बिशेषता, उत्पादनबाट हुने आर्थिक लाभ बिश्लेषण भएका छन।

मानिसको दैनिक जीवनयापनमा प्रोटिनको अती आवश्यकता पर्दछ। त्यसपछी कार्बोहाईड्रेट, भिटामिन पानी पर्दछन। यिनिहरुको अभावमा मानिस रोगी हुन्छ। तर खुशीको कुरा, च्याउ प्रकृतिले मानिसलाई दिएको गतिलो उपहार हो।  यसमा प्रोटिनको मात्रा मासुको हाराहारिमा पाइएको  छ। यसमा दुधमा भन्दा पनि बढी प्रोटिन रहेको तथ्य बिज्ञहरुले औल्याएका छन। च्याउमा मानिसको लागि आवश्यक पर्ने नौ वटै अमिनो  एसिड रहेको पाईन्छ।
च्याउमा पानीको मात्रा प्रयाप्त हुन्छ। फल टिप्दाको अवस्था तथा ताजा तरकारीको रुपमा उपयोग हुने बेला यसमा ७० देखी ९५ प्रतिशतसम्म पानी अर्थात ओसिलोपना रहेको हुन्छ। यसबाट सरदर १० देखी १५ प्रतिशत सुख्खा च्याउ पाउन सकिन्छ।

च्याउमा प्रयाप्त मात्रामा फस्फोरस,आइरन, भिटामिन, थायमिन, राइइबोफ्लेमिन, एस्कर्विक एसिड, नियासिन, आदी पोषक तत्वहरु पनि रहेका हुन्छन। साथै यसमा कम क्यालोरी कम फ्याट रहेको हुन्छ। आजकल क्यालोरी फ्याट कम भएका खानेकुराको लागि डाक्टरहरुले पनि सिफारिस गर्छन्। हाल केही बर्षयता च्याउमा सेलेनियम नामक पोषक तत्वको लागि पनि च्याउको खेती उपभोग बढेको छ्।  सेलेनियम मानिसको लागि अपरिहार्य पोषक तत्व हो।

च्याउमा अत्यन्त महत्वपूर्ण पौस्टिक तत्वहरु पाईन्छन। हाम्रो शरीरका लागि नभई नहुने बिभिन्न प्रकारका एमिनो एसिड च्याउमा पाईन्छ। भिटामिनमा ए, बि, सि, पनि प्रशस्त मात्रामा पाईन्छ। त्यसैगरी मिनरल्समा क्याल्सियम, फोस्फोरस आदी पाईन्छ। त्यसैले च्याउ एक पौषटिक आहार पनि हो।

नेपालमा हालसम्म ७२० प्रजातिका च्याउहरु पहिचान भएका छन। तिमध्य ११० प्रकारका खान हुने, ७५ वटा औषधीय गुणयुक्त र ६५ वटा बिसालु प्रकृतिका च्याउ पुस्टी भएका छन। यि बाहेक अन्य प्रजातिका च्याउ मध्यम खालका हुन्छन, जसलाई खानयोग्य मानिदैन।

खासगरी नेपालमा परम्परावादी ब्राम्हण समुदायमा च्याउको उपयोग त्यती भएको पाईदैन। केही ब्राम्हणले त यसलाई खान नहुने पदार्थको रुपमा लिएको पाईन्छ। त्यही भएर कतिपय अन्य समुदायले ‘बाहुनले च्याउ खाए पो स्वाद पाउछ’ भन्ने उखान भन्ने गरेका हुन। अहिले भने शहरीकरण, बसाईसराई तथा शैक्षिक चेतनाको कारण च्याउको  उपभोग ब्राम्हण समुदायमा पनि बढ्न  थालेको  छ।

च्याउको बिशेषता धेरै छ। आयुर्वेदिक चिकित्सा पद्दतिमा च्याउ क्यान्सर, ट्युमर, उच्च रक्तचाप, ग्यास्ट्रिक, हेपाटाइटिस रोगमा प्रयोग हुन थालेको छ। किसान तहमा सिताके, ग्यानोडेर्मा, कन्ये र गोब्रेजस्ता च्याउको खेती पनि हुन थालेको छ। थोरै पुजी र जोखिमबाट राम्रो आम्दानी हुने हुँदा च्याउ खेतिमा किसानहरु आकर्षित हुन  थालेका  छन।

नेपालमा अल्पायुमा नै महिलाहरुको मृत्‍यु हुनुमा पौस्टिकताको कमी पनि प्रमुख कारण हो। महिला आहार सम्बन्धी २०११ म गरिएको अध्ययन अनुसार गर्ववती र सुत्केरी अवस्थामा पोसिलो आहारको कमिले उनिहरुको मृत्‍यु हुने गरेको छ। पौस्टिक आहारको कमिले रक्तअल्पता, तल्लो पेट दुख्ने, आङ खस्ने जस्ता रोगहरु पनि हुन सक्छन।

ग्रामीण परिवारमा मात्र होईन, हुने खाने शहरी परिवारमा समेत च्याउको नियमित सेवन हुने हो भने कुपोसणबाट शहजै जोगिन सकिन्छ। यसको पौस्टिकता अन्य तरकारी र माछा, मासुभन्दा बढी छ। यसको सेवनले कुनै नकारात्मक असर गर्दैन।

यसमा क्याल्सियम प्रयाप्त हुने हुँदा हड्डी बलियो बनाउन, सुत्केरिको ज्यान बलियो पार्न, दुध बढाउन फाईदाजनक हुन्छ। गर्ववस्थामा पनि निकै फाईदा पुग्ने हुँदा भर्खरै जन्मिने बच्चाको स्वास्थ पनि राम्रो हुन्छ।

च्याउ उत्पादन गर्दा अपनाउनुपर्ने सावधानी:
च्याउ उत्पादन प्रबिधी सजिलो देखिएपनी यसको सन्चालन सम्बेदनशील हुन्छ। च्याउ खेती बिज्ञान र कला दुवै हो। हामीले यो दुवै ज्ञान बराबरी प्रयोग गर्नुपर्छ। यसलाई सन्चालन गर्न निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ:
१) उपयुक्त प्रजातिको च्याउ छनौट
२) राम्रो फल दिनसक्ने
३) सफा, स्वच्छ, पराल, भुस, मल आदी छनौट तथा सङ्कलन
४)  Robust Spawn को बिकास
५) Mycellia को बिकासक्रममा सावधानी
६) फल उत्पादन ब्यवस्थापन
७) फल टिप्दाको सावधानी
माथि लेखिएका यि सावधानी लागु नगरिएमा च्याउ उत्पादन प्रणालिमा सफलता पाउन कठिन हुने गर्दछ। यसरी च्याउ खेतीको लागि सबैभन्दा पहिले उपयुक्त प्रजातिको छनौट हुनुपर्दछ। यसको उत्पादन, बजारको चाहना आर्थिक फाईदा तिनै बिश्लेसण गरी छनौट गर्नुपर्छ।राम्रो भाउ आउने रहेछ भन्दैमा बातावरणिय, प्राबिधिक तथा बजारिकरणको बिश्लेसण नगरि प्रजाती छनौट गरियो भने असफलता हात लाग्न सक्छ। तसर्थ प्रजाती छनौट पहिलो महत्वपूर्ण कार्य हो।
Fruiting culture राम्रो भएको प्रजाती छनौट गर्नुपर्ने आवश्यकता रहन्छ। यसको अर्थ अनुवन्शिक गुण राम्रो भएको, स्थानियबातावरणमा राम्रो आकार, स्वाद, रङ, पारीमाण र गुणमा उत्पादन हुने खालको प्रजाती हुनु भन्ने हो।

कन्ये च्याउ खेती प्रबिधी
क) परिचय:
कन्ये च्याउ नेपालमा धेरै खेती हुनसक्ने वर्गको च्याउ हो। यसका धेरै प्रजातिमध्य नेपालमा चारवटा प्रजातिको खेती बढी हुँदै आएको छ। यि मध्य Pleurotus ostreatus नामक प्रजातिको ख्याती बढी छ। यसलाई अङ्रेजिमा Oyster mushroom भनिन्छ। यसको खेती नेपालको तराईदेखी पहाडी दुवैभेगमा गर्न सकिन्छ। नेपालमा खेती हुँदै आएका अरु प्रजातिहरुमा Pleurotus florida Pleurotus sajorcaju  हुन। यसको खेती २० देखी ३० डि.से  तापक्रम भएको ठाउमा गर्न उपयुक्त हुन्छ। तर च्याउको बिउ ब्यवासायिहरुले अनाधिक्रित रुपमा भारतबाट मुल बिउ ल्याएर बिउ तयार गर्ने हुँदा प्रजातिमा एकरुपता पाईदैन। यसले मिसावटयुक्त फसल हुने गरेको पाइएको छ। 
अन्य देशमा बढी खेती हुने प्रजातिहरुमा Pleurotus carticatusPleurotus flabellatus हुन। यो च्याउको खेती धानको पराल, गहु, वा जौको छ्वाली, तोरिको पिना, मकैको ढोड, खोया, कठको धुलो आदिमा गर्न सकिन्छ।          
भौगोलिक दृष्‍टिकोणले  ८००-१४०० मिटर उचाई भएको ठाउमा चैत्र महिनादेखी कार्तिक महिनासम्म र सोभन्दा कम उचाई भएको स्थान जस्तै तराईमा कार्तिकदेखी माघसम्म यसको खेती सफल हुने गरेको छ।   काठमाण्डौ उपत्यकामा यसको खेती फागुनदेखी कार्तिक महिनासम्म गर्न सकिन्छ। हाल जाडोमा पनि राम्रो उत्पादन हुनसक्ने प्रजातिको बिउ पाईने गरेको छ। तापक्रम ब्यवस्थापन गर्नसके बर्षभरी नै यसको खेती गर्न सकिन्छ। 

१) उत्पादनमा आवश्यक सामाग्रीहरु:
कन्ये च्याउ खेती गर्न निम्न सामाग्रीहरु आवश्यक पर्दछन:-
१) ठुलो फलामको ड्रम
२) प्लास्टिकको बाटा
३) भुसा काट्ने कैची ( Chaff cutter)
४) मट्टितेल स्टोभ वा दाउरासहितको चुल्हो
५) प्लास्टिक सिट
६) प्लास्टिक ब्याग
७) पराल
८) च्याउको बिउ
९) धागो
१०) चुना
११) गमबुट
१२) मास्क
१३) पन्जा
१४) औषधी छिट्ने स्प्रेयर
१५) जालिदार बोरा
१६) ब्लिचिङ पाउडर
१७) फुलझारी आदी

यि सामाग्रीहरु जुटेपछी कन्ये च्याउ खेती गर्न सहज हुन्छ। यसको लागि सफा र राम्रो कुन्यु लगाएको पराल हुनु पर्दछ। उपलब्ध भएसम्म चाम्रो चामल हुने जातको धान जस्ताइ: ताईचुङ, अनदिको पराल यसको लागि उपयुक्त हुन्छ। आफुलाई चाहिने जती राम्रो पराल जोखिसकेपछी कारीब एक इन्च लामो टुक्रा पार्नुपर्छ। पराल टुक्रा पार्नको लागि भुसा काट्ने कैची वा मोटरयुक्त कैची प्रयोग गर्न सकिन्छ तर परालमा हरियोपना भएको खन्डमा च्याउको असली ढुसी बिस्तार हुन गार्हो पर्दछ। त्यसैले सफा र ताजा पराल प्रयोग गर्नु पर्दछ।
यसरी टुक्रा पारेको पराल फेरी केलाउने र प्याज वा आलुको जालिदार बोरामा हल्कासँग खाद्नु पर्छ। २५ केजिको बोरामा ५-७ केजी जती पराल मात्र राख्नुपर्छ। यसरी टुक्रा पारीएका पराललाई कम्तिमा ६ घण्टासम्म सफा पानीमा चुना र ब्लिचिङ पाउडर घोलेर भिजाउनुपर्छ। डुबाउनका लागि सिमेन्टेट पक्की नाबर सबैभन्दा राम्रो हुन्छ। साझ भिजाउने र बिहान निकाल्ने गरे झन राम्रो। यसरी डुबाउदा परालमा भएको किटाणु नस्ट हुन्छन।

पराल भिजाउदा प्याजको जालिदार बोरामा हल्का खादेर डुबाउनुपर्छ। जालिदार बोरा भएमा पराल एकनासले भिज्छ। एउटा बोराको परालले दुइदेखी चारवटा पोका(सिलिण्डर) बनाउन सकिन्छ। पराल भिजाउदा चुना र ब्लिचिङ पाउडर पनि पानीमा घोल्नुपर्छ। ५० वटा पोका बनाउन कारीब दुई केजी चुना र पाच ग्राम ब्लिचिङ पाउडर घोल्नुपर्छ। 

प्रयाप्त भिजाईसकेको पराल पानी तर्काएर बफ्याउनु पर्छ। बफ्याउनु अघी ति पराल मचान,टाड वा सहज हुने ठाउमा १० मिनेट जती राखी पानी तर्काउनुपर्दछ। परालबाट पानी तर्काउनको लागि १ मिटर काठ वा बासको फ्रेमको मचान बनाउन सकिन्छ। मचान पानी तर्किने खालको हुनुपर्दछ। त्यो मचान भुईबाट उठाई भुईमा नछुने गरी राख्नुपर्छ। त्यसमाथी भिजेको पराल राख्दा पानी चाडै तर्किन्छ।  
पानी तर्काईसकेको पराललाई हत्केलामा एक मुठी लिएर थिचेर हेर्दा यदी पानीका थोपाहरु ननीस्की खाली हत्केला मात्र भिज्यो भने त्यसमा पानीको मात्रा ठीक रहेछ भनी यकिन गर्न सकिन्छ। यदी पानीको  थोपाहरु धेरै निस्केको देखियो भने त्यसलाई केहीबेर अझै तर्काउन सकिन्छ। 
पानीमा रातभर भिजाईएको पराललाई पानी तर्काउन राखिदै गर्दा  

कन्ये च्याउ उत्पादनको क्रममा केही बिशेष बिधिहरु अपनाउनु पर्दछ। यिनिहरु निम्न किसिमले सिलसिलाबद्द गर्नुपर्दछ:

२) पराल बफ्याउने बिधी:
पानी तर्काईसकेपछी पराल बफ्याउनुपर्दछ। पराल बफ्याउने समय बिहान राम्रो हो। घान जती ठुलो हुन्छ त्यती धेरै समय बफ्याउनुपर्छ। पराल बफ्याउनकालागी ड्रम अथवा माटोको पोटासी प्रयोग गर्नु पर्दछ। ड्रममा तलपट्टी ६ इन्चसम्म पानी राखी त्यसमा तिन्-चारवटा ईट्टा वा काठको स्ट्याण्ड राख्नुपर्छ। ताकी परालले ड्रमको सतह नछोहोस। सतह छोयो भने पराल डढ्ने र बाफ आउन अवरुद्द हुन्छ। तलै पानी सोसिएमा माथि राखिएको पराल काचै हुन्छ। त्यसैले पानी नसोस्ने र सबैतिर बाफ पुग्ने गरी परालको बोरा खाद्नुपर्छ। मट्टितेल राख्ने २०० लिटरको फलामे ड्रममा ६ वटा बोरा बफ्याउन सकिन्छ।   
ड्रमको मुखमा प्लास्टिकले राम्रोसँग छोपेर डोरिले बाध्नुपर्छ। ड्रमको माथिबाट वाफ आउन थालेपछी कमसे कम आधा घण्टासम्म पराललाई बफ्याउनुपर्छ। यसरी बफ्याउदा परालमा भएका हानिकारक किरा र जीवाणुहरु नस्ट हुन्छन।  बफ्याईएको पराललाई चिसो नहुँदै सफा भुईमा राखी प्लास्टिकले छोप्नुपर्छ वा ड्रममा नै राखेर चिसो पार्नुपर्दछ। अनी सफा भुईमा राखी सुख्खा बनाउनुपर्छ।
पराल चुनापानिमा डुबाउने र बफ्याउने दुवै काम गरियो भने पराल निरोगी हुन्छ र च्याउ रोग सङ्क्रमित हुन पाउदैन। मनग्य फसल लिन सकिन्छ। पराल पनि सफा र नमक्किएको हुनुपर्छ। च्याउ खेती एकै ठाउमा पटक -पटक गरिन्छ भने पराल बफ्याउनेदेखी अन्य सरसफाईमा बढी ध्यान दिनुपर्छ।
च्याउ खेती कती गर्ने वा पोका बनाउने त्यसको किटानसङ्गै कती परीमाणमा पराल बफ्याउनु पर्ने हो सो को हिसाब आउछ। २५ केजी प्याज अटाउने जालिदार बोरामा ५-७ केजी पराल टुक्रा खाद्नुपर्छ। यसबाट दुइदेखी चारवटा पोका बनाउन सकिन्छ। एउटा पोकामा २०० ग्राम बिउ प्रयोग गर्नुपर्छ।
थोरै पराल बफ्याउनका लागि पिधमा प्वालहरु भएको माटोको घ्याम्पो र ताउलो प्रयोग गर्न सजिलो र कम इन्धनले पुग्छ। धेरै पराल बफ्याउन मट्टितेल वा अन्य केमिकलको फलामे ड्रमको प्रयोग उपयुक्त हुन्छ।
सानो स्तरमा च्याउ खेती गर्न चुल्होमा आगो बाल्ने र त्यसमाथी दुई तिहाई भाग जती पानीसहितको ताउलो वा डेक्ची र त्यसमाथी पिधमा प्वालहरु भएको ठुलो घ्याम्पो राख्नुपर्छ। ति दुईवटाको बिचबाट बाफ नआओस भनी गिलो माटो वा भिजेको कपडाले टाल्नुपर्छ।त्यसपछी घ्याम्पोमा काटेर भिजाइएको पराल राख्नु पर्दछ। अब त्यस घ्याम्पो वा ड्रमलाई हावा बन्द हुनेगरी प्लास्टिकले छोप्ने र डोरिले बाधेर राम्रोसँग ढकनी लगाउनुपर्छ।
साथी उर्मिला र प्रतिमा पराल बफ्याउदै गर्दा 
ठुलो स्तरमा च्याउ खेती गर्ने भए फलामे ड्रममा पराल बफ्याउनु उपयुक्त हुन्छ। यसका लागि ड्रमको पिधमा ३-४ वटा ईट्टा, ढुङ्गा, काठ वा फलामको ओदान राखेर त्यसमाथी प्वालै प्वाल भएको कुनै वस्तु( तारको जाली, वा दर्हो चाल्नो) राख्नुपर्छ। ड्रमको पिधको पानीमा बफ्याउने पराललाई डुब्न दिनु हुँदैन।

त्यस्तै, माथिबाट हावा छिर्न नदिने वस्तु जस्तै प्लास्टिकले ढाकेर रबर वा डोरिले हावा बन्द हुने गरी बाध्नु पर्छ। जब पराल तातेर बाफ माथि आएको देखिन्छ, तब ढकनिलाई हावाले उचाल्दै लगेर फाल्न खोज्छ। यस्तो हावालाई बाहिर जान दिने गरी प्लास्टिकमा सानो प्वाल पार्ने वा एक पटक ढकनी खोलेर हावालाई बाहिर जान दिनुपर्छ। यदी बाफ बाहिर ननीस्किदै बफ्याउने भाडाको मुख बन्द गरियो भने त्यसभित्र बाफमात्र नभएर हावा पनि मिसिएको हुन्छ। यो हावा मिसिएको बाफले भन्दा हावा नमिसिएको बाफ बढी तातो हुन्छ। हावा नमिसिएको बाफ ९५ डि.से वा सोभन्दा बढी तातो हुन्छ र परलमा भएको किटाणु, जीवाणुलाई मार्न वा निस्कृय पार्न सक्छ।अझ राम्रो त् बफ्याउने भाडामा भरेको पराल नाघेर जब बाफ माथि निस्कन थाल्छ अनी मात्र ढकनी लगाएर बाफ बन्द गरेपछी आधा घण्टादेखी एक घण्टा र अझ बढी अवधिसम्म (परालको परीमाण र सरसफाईको अवस्थानुसार) बफ्याएपछी पराललाई सफा ठाउमा सेलाउन राख्नुपर्छ।
बफ्याईएको पराल निकाल्ने क्रममा साथी सन्दिप, शुभम र सुस्मा

३) बिउ छर्ने तथा पोका बनाउने बिधी
पराल बफ्याएर सेलाएपछी पोका बनाउने र बिउ छर्ने काम हुन्छ। पोका बनाउने कामलाई कतिपयले सिलिण्डर बनाउने पनि भन्दछन। कन्ये च्याउ रोप्नको लागि १२ं*२६, १४*२४ अथवा १६*२६ साईजको प्लास्टिकको थैला प्रयोग गर्न सकिन्छ। च्याउको बिउ प्लास्टिकमा रोप्दा एक तह पराल, एक तह बिउ रोप्दै हातले बेसरी थिच्दै जानु पर्दछ। बिउ र पराल मिसाएर थैलो भरेको खन्डमा पनि राम्रै हुन्छ। बिउको तह दुई इन्चसम्म हुँदा पनि ठीक हुन्छ।
साथीहरुको एक समुह बिउ छर्ने र पोका बनाउने काममा ब्यस्त हुँदै गर्दा 
थैला भरिसकेपछी यसको मुख सुतलिको धागो वा रबरले बाध्नु पर्दछ। यसमा एक बित्ताको फरकमा छड्के पारेर ४-५ वटा प्वाल पार्नुपर्दछ। डटेपनजस्तो काठको छेस्कोले चारैतिर प्वाल बनाउनु पर्दछ। प्वाल पारेको ठाउमा सुख्खा तथा पानीले लपक्क नहुने फाईबर किसिमको कपासले टाल्नुपर्दछ। यदी त्यसो नगरिएमा कमिला तथा भुसुनाले दुख दिन सक्छन। बिउ पनि सुक्छ। यसले गर्दा च्याउ राम्ररी फल्दैन। फलेपनी जिङ्रिग हुन्छ।
क्याम्पसको केन्द्रिय प्रयोगशालामा कन्ये च्याउको पोका लगेर राखिदै गर्दा 

४) तयारी पोका राख्ने बिधी
तयारी बिउको पोकालाई अध्यारो कोठामा ३ हप्तासम्म राख्नुपर्दछ। यस बेला कोठाको तापक्रम २२-२५ डिग्री सेल्सियस हुनुपर्छ। ढुसी नआउन्जेलसम्मको नर्सरी कालभरी कालो प्लास्टिकले अध्यारो पार्न सकिन्छ। यसलाई ओथारो राख्ने पनि भन्ने चलन छ। ढुसी आएपछी कोठा खुल्ला पारीदिनुपर्छ र पोकाहरु फिजाएर राख्नुपर्छ।अथवा १-२ पटक दुई बित्ताको फरकमा ठाडो पारी बासमा डोरी बनाउने र त्यसमा सिक बनाई पोका झुण्ड्याउन पनि सकिन्छ। यो कार्य गर्नाले झन्झट कम हुनुको साथै थोरै ठाउमा धेरै पोका अटाउन सकिन्छ। 
३ साताभित्र च्याउको ढुसी पोकाभरी फैलिएर झपक्क सेतो हुन्छ। कतै कतै च्याउको कोपिला आउने गरी सेता गिर्खा देखापर्दछन। त्यसपछी च्याउको कोपिला आउन लागेको ठाउमा थोरै काट्ने वा पहिलेनै पारीएको प्वाललाई आवश्यकता अनुसार लाम्चो पारी काटेर खाली बनाउनुपर्छ। यसो गर्नाले च्याउ छिटो फल्छ।   पुरै प्लास्टिक च्यातेर सेतो डल्लालाई भुईमा वा र्याकमा राखियो भने एकैपटक बाली आउने र सुक्ने हुन्छ। फल पनि कम लाग्छ। 
रामकुमार श्रेष्ठ सरद्वारा विद्यार्थीलाई च्याउको पोकामा ईलेक्ट्रिक मेसिनको प्रयोग गरी प्वाल बनाउन सिकाउदै गर्दा  
कोपिला र फल आउन थालेपछी पानी पटाउनुपर्छ। यो बेला दिनको २-३ पटक मसिनो फोहोरा जस्तै गरी सफा पानीले डल्लामात्र भिज्ने गरी छर्कनुपर्छ। परालको डल्लामा भन्दा डल्लाको वरीपरी बढी पानी पटाउनुपर्छ। फल ननीख्रुन्जेलसम्म अर्थात दुई महिनाजती सिन्चाई नियमित गर्नुपर्छ। यस समयमा कोठाको तापक्रम २०-३० डिग्री सेल्सियस हुनुपर्छ। त्यसैले गर्मी मौसममा प्रत्येक घण्टा नै पानी दिईरहनु पर्छ। पश्चिमी वायुको आगमन छल्ने गरी टहरा वा कोठा प्लास्टिकले घेर्नु पर्दछ।
सजोरकाजु जातको कन्ये च्याउमा पानी दिएको एक साताभित्र साना-साना कनिका जस्तो च्याउहरु देखा पर्दछन। यसको ३-४ दिनमा नै च्याउ टिप्ने बेला हुन्छ। ओस्ट्राटस जातको कन्ये च्याउ झुप्पा-झुप्पा गरेर एकपछी अर्को गर्दै लगातार आइरहन्छ। यसबेला कोठामा हावाको सन्चालन राम्रो हुनुपर्छ। कोठाको झ्याल, ढोका, र पर्दा खोली उज्ज्यालो पार्नु पर्दछ।
यसरी एक पटक च्याउ टिपेपछी अर्को ८-१० दिनसम्म पानी हाल्दै गर्नुपर्दछ। त्यती बेला अर्को च्याउ आउछ र दोस्रो पटक च्याउ टिप्ने बेला हुन्छ। त्यस्तै गरी, अर्को १० दिनपछी तेस्रो पटक च्याउ टिप्न सकिन्छ। ब्यापारिक दृष्‍टिकोणले ३ पटकसम्म मात्र च्याउ टिप्नु फाईदाजनक हुन्छ।
च्याउ फल्ने अवधी तीन महिनासम्म हुन्छ। माथि उल्लेखित बिधिबाट खेती गर्दा एक केजी परालबाट करीब एक केजी च्याउ उत्पादन हुन्छ। अर्थात, २०० ग्राम बिउ हालिएको एउटा पोकाबाट दुइदेखी तीन केजिसम्म च्याउ फलाउन सकिन्छ। प्रबिधी राम्रोसङ्ग अपनाएको खन्डमा यो भन्दा बढी उत्पादन हुनसक्छ।
सरले सिकाए पस्चात साथी प्रयास सो उपकरण प्रयोग गर्दै गुम्स्याउन बनाईएको कोठाभित्र च्याउको पोकामा प्वाल पार्दै गर्दा 

५) च्याउ सुकाउने बिधी
कन्ये च्याउ सुकाएर पनि राख्न सकिन्छ। च्याउलाई सुकाएमा भाउ पर्खिएर बेच्न सकिन्छ। बजार नहुदाको बखत राहत पाईन्छ। सुकाउने तरिका निम्न प्रकारका छन:
१) च्याउ टिपेर सफा धागोमा माला गासेर कोठाभित्र सुकाउनु पर्दछ। च्याउ सुकाउदा कोठाको पश्चिमपट्टिको झ्याल खुल्ला राखी कोठामा हावा सन्चालन गराउनु पर्दछ।
२) च्याउलाई घाममा सुकाउनु हुँदैन किनकी घामले च्याउको रङ र गन्ध हराउछ। तर सोलार वा इलेक्ट्रिक ड्राएरमा सुकाउदा भने हुन्छ।
३) यसरी सुकाइएको च्याउ उपभोग गर्नु अघी तातो पानीमा १० मिनेट भिजाउने र पकाउने गर्नुपर्छ।

ख) कन्ये च्याउको औषधीय महत्व
कन्ये च्याउ सामान्य खाध्य पदार्थ मात्र होइन। यसले औषधीय गुण पनि बोकेको हुन्छ। यसको सेवन गर्नाले निम्न फाईदा हुन पुग्छ:
१) यसले प्लेटलेट्स जम्ने कार्यलाई रोक्दछ। यसले गर्दा रक्त संचारमा सहयोग पुग्छ। यसको सेवनले ह्रदयघात, पक्षघात जस्ता समस्याहरुबाट जोगाउदछ।
२) कोषलाई बुढो हुनबाट बचाउन एन्टिअक्सिडेन्टको काम गर्दछ। चाडो बृद्धी हुनबाट बचाउनका साथै क्यान्सर तथा बिभिन्न रोगबाट बचाउन फ्री र्याडिकललाई घटाऊछ। कलेजोमा हुने अक्सिडेसन प्रकृया रोक्ने इन्जाइमको कार्यक्षमता बढाउछ।       
 ३) क्यान्सर वा सार्कोमा जस्ता रोगलाई नियन्त्रण गर्न सक्छ। यसले ट्युमर निरोधकको भूमिका पनि निर्वह गर्न सक्छ। कन्ये च्याउबाट निकालिएका लेक्टिनको साथै यस् च्याउमा पाइने प्रोटिन (ओस्ट्रोइसिन) मा य प्रकारअका गिर्खा ( ट्युमर) निरोधक क्षमता रहेको बताइन्छ।
४) त्यस्तै एचआभी एड्स फैलिन नदिन, यसमा पाइने लेक्टिनले खानाको रुची घटाई शरीरको तौल घटाऊने औषधीको रुपमा पनि यो उपयोगी छ।
५) मुसा र खरायोमा गरिएको परिक्षणबाट, रक्त प्लाज्मा, सेरमको साथै कोलेस्टेरोलको मात्रा घटाऊने तथा कोलेस्टेरोल जम्मा हुने कार्यसमेत कम गरेको नतिजा प्राप्त भएको छ।  

) आईपर्ने समस्या समाधान:
) च्याउ खेती गर्दा झिगा, सुलसुले, भुसुना आदी लाग्न सक्छ। तिनको सन्क्रमण भएमा निम, तितेपातिको झोल छर्कनुपर्छ। निकै नै सताएको छ् भने एक लिटर पानीमा एक देखी आधा मिलिलिटर नुभान औषधी घोलेर छर्कनुपर्छ। तर च्याउ आईरहेको बेलामा भने छर्कनु हुँदैन। च्याउ टिपेपछी छर्कनुपर्छ। किनकी, फलमा बिसादी छर्ने बित्तिकै उपभोग गर्न मिल्दैन। साथै, बिसादिले ताजा फल पनि खुम्च्याई उत्पादन कम हुन्छ। 
२) च्याउको पोकामा कहिलेकाही कालो किसिमको जङली च्याउ आउन सक्छ। जङली च्याउ पहिचान गरी आउनासाथै टिपेर फाल्नुपर्छ।
३) कुनै-कुनै परालको पोकामा सेतो ढुसी नआई कालो, निलो, हरियो ढुसी आउन सक्छ। यस्तो आएको पोका पनि त्यहाबाट तत्काल हटाई माटोमा गाडीदिनुपर्छ।
४) कोठामा हावाको सन्चालन राम्रो नभएमा च्याउको डाठ्मात्र लामो भएर जान्छ। फल कम लाग्छ।  
५) पश्चिमी हावाबाट च्याउलाई जोगाउनुपर्छ। नत्र च्याउ सुक्ने खतरा रहन्छ।


No comments:

Post a Comment

नवलपरासी (ब.सु.प) मा कृषि गणनाका लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु

  नवलपरासीमा सातौ राष्ट्रिय कृषि गणना २०७८ का लागि छनौट भएका गणक तथा सुपरिवेक्षकलाई तालिम दिन सुरु गरिएको छ। परासी क्याम्पसमा २०७८ / १२ / २५...